बिहिबार, बैशाख १३, २०८१

प्रधानन्यायाधीशकै कुर्सीमा पुगेर धर्ना दिने बार महासचिवको चेतावनी

काठमाडौं कात्तिक ३०,

आन्दोलनरत नेपाल बार एसोसिएसनले आफूहरूको माग सम्बोधन नभए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको च्याम्बरमै पुगेर विरोध जनाउने बताएको छ । दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वोच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ ।

सोही क्रममा मंगलबार धर्नालाई सम्बोधन गर्दै बार महासचिव लिलामणि पौडेलले बारको कुरा नसुन्ने हो भने प्रधानन्यायाधीशकै कुर्सीमा पुगेर धर्ना दिने चेतावनी दिए ।

इजलासमा फर्किने तयारी गरेका न्यायाधीशलाई खबरदारी गर्दै उनले आन्दोलन असफल पार्ने कदम नचाल्न चेतावनी पनि दिए ।‘बारको आन्दोलन समग्र न्यायाधीश र सेवाग्राहीका लागि हो । न्यायका लागि हो । त्यसकारण न्यायाधीशले साथ दिनुपर्छ । विपक्षमा गएर विरूद्वमा नलाग्नुस्’, महासचिव पौडेलले भने ।

जबरालाई बहिर्गन हुन पुनः अनरोध गरेका उनले अन्यथा सडकमा जाने र कार्यसमिति बैठक बसेर थप आन्दोलन कार्यक्रम तय गरिने जानकारी दिए ।
-न्युज कारखाना