शनिबार, बैशाख ८, २०८१

जनगणना, २०७८: राष्ट्रको नीति निर्माणका लागि सही विवरण दिन देशवासीलाई प्रम देउवाको आग्रह

काठमाडौं कात्तिक २५,
हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाअन्तर्गत १२औं शृङ्खलाको मुख्य गणना आजबाट सुरु हुँदै गरेको जनाउ सहित प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन्। राष्ट्रिय जनगणनाका अवसरमा उनले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाको सन्देशमार्फत जनगणनामा पहिलोपटक सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहेका नेपालीकोसमेत जनसाङ्ख्यिक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवासुविधासम्बन्धी विवरण सङ्कलन हुने उल्लेख गर्दै जनताले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्ना घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराई दिनुहुन सम्पूर्ण देशवासीलाई अनुरोध गर्नुभएको छ ।

विगतमा हामी कुन अवस्थामा थियौँ, अहिले कुन अवस्थामा छौँ र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ भन्ने मार्ग चित्र तय गर्नका लागि जनगणनाबाट प्राप्त हुने तथ्याङ्कबाट केन्द्रदेखि स्थानीय तहसम्म नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुने महत्वपूर्ण दस्तावेज भएका कारण यसको पेथक महत्व रहेको बताउनुभएको छ ।