बिहिबार, बैशाख ६, २०८१

​२० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रम देउवा आज बेलायत जाँदै

काठमाडौं कात्तिक १२,
प्रधानमन्त्री शेरबहादुर देउवाको आज बेलायत प्रस्थान गर्दैछन् । ​२० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा आज बिहान १० बजे कतार एयरको उडानबाट शुक्रबार स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि [यूएनएफसीसीसी] को २६ औं सम्मेलन ९कोप–२६० मा सहभागी हुन बेलायत प्रस्थान गर्न लागेका हो।

परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवा नेतृत्वको ​२० सदस्यीय प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलाई समावेश गरिएको छ ।
त्यस्तै गरि वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेको जनाएको छ ।

त्यसैगरी, भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार रहेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार सम्मेलनमा भाग लिएपछि उहाँ कात्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश आउने कार्यक्रम रहेको जनाएको छ।