बिहिबार, बैशाख ६, २०८१

मंगलवारबाट एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने

काठमाडौं कात्तिक ८ ,
मंगलवारबाट काठमाडौंका ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार जारी सूचनामा काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने जानकारी दिएको हो ।

त्यस्तै जारी सूचनामा खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

साथै जारी सूचनामा दोस्रो दोजको खोप काठमाडौं महानगरपालिकास्थित क्रमस महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पताल संगै सबै वडाका खोप केन्द्रमा लगाइने छ ।

त्यस्तै कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा लगाइने उल्लेख गरिएको छ । त्यस्तै अस्पतालमा दुइ दिन र स्थानीय तहका खोप केन्द्रमा ३ दिन सञ्चालन हुने जानकारी समेत सूचनामा उल्लेख गरिएको छ।