बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत भ्रमणमा जाँदै

काठमाडौं कात्तिक ११,
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रसङ्घीय जलवायु सम्मेलन संरचना महासन्धि (कोप–२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार बेलायत भ्रमणमा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवासहित नेपाली प्रतिनिधिमण्डलको भ्रमण तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । परारष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार अक्टोबर ३० मा प्रधानमन्त्री देउवाले सर्वदलीय संसदीय समूह र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा भाग लिनुहुने र सम्बोधन गर्ने हुनुभएको छ ।

यसैगरी, अक्टोबर ३१ मा देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली सङ्घ र नेपाली समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुनेछ । सोही दिन बेलायतका लागि नेपाली कार्यवाहक राजदूतले लण्डनमा आयोजना गर्नुभएको रिसेप्सनमा भाग लिनुहुने कार्यतालिका रहेको छ ।

रिसेप्सनमा देउवाले नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस–गोर्खा संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुनेछ । यसैगरी, नोभेम्बर १ मा प्रधानमन्त्री देउवाले कोप–२६ सम्मेलनमा भाग लिनुहुनेछ । उक्त सम्मेलनमा प्रधानमन्त्रीले नेपाली मुद्दासहित सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नोभेम्बर ४ मा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।