शुक्रबार, चैत्र १६, २०८०

नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको मौलो पूजा सम्पन्न

काठमाडौं असोज २८,

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना गर्नुभएको छ।

पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निशानमा पञ्जा छाप लगाउँदै मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी जवान दुर्गा बहादुर सिंजालीलाई नगद पुरस्कार समेत दिनुभएको प्रहरी बुलेटिनमा उल्लेख गरिएको छ।

त्यस्तै यसै अवसरमा पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि नेपाल प्रहरीको निशान रामदल पल्टनबाट आएको निशान प्रस्थान गराइएको थियो ।

नेपाल प्रहरीको निशानमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षा अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ ।

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।