बिहिबार, बैशाख १३, २०८१

दसैँ पर्वले सुख, शान्ति, समृद्धिसंगै सवैमा सकारात्मक ऊर्जा थप्ने राष्ट्रपतिको विश्वास

बडादसैँको पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि र राष्ट्रिय एकता अझै बलियो हुँदै जाने उपराष्ट्रपतिको विश्वास

काठमाडौ असोज २९,
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जारी गनुभएको सन्देशमा कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह समेत गर्नुभएको छ ।

वर्षाको हिलोमैलोपछि सुरम्य शरद् ऋतुमा मनाइने बडादसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमी मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने चाड भएको उल्लेख गर्दै राष्ट्रपतिले नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको पर्वको विशेष महत्व रहेको जनाउनुभएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीहरुको महान् चाड बडादसैँं–२०७८ को अवसरमा देशविदेशमा रहनुभएका हिन्दू धर्मावलम्बीलगायतका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैँले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

साथै उहाँले हाम्रो देश विविधतायुक्त भाषा, धर्म, संस्कार–संस्कृतिले अत्यन्त भरिपूर्ण छ । संविधानले सबै धार्भिक, सांस्कृतिक, भाषिक समुदायलाई आफ्नो धर्म, संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको उल्लेख गर्दै बडादसैँको यस पावन पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि र राष्ट्रिय एकता अझै बलियो हुँदै जाने उहाँले विश्वास पनि व्यक्त गर्नुभएको छ ।