शनिबार, बैशाख ८, २०८१

इस्लाम धर्मावलम्बीले आज मोहम्मद जयन्ती मनाउदै

काठमाडौ कात्तिक २,
इस्लाम धर्मावलम्बीका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको जन्मजयन्ती आज मनाइँदैछ । इस्लाम धर्मका अन्तिम सन्देशकर्ता समेत मानिने मोहम्मद जयन्ती आज मुस्लिम धर्मावलम्बीले बिशेष रुपमा मनाउने गर्छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मोहम्मदको १ हजार ४ सय ३६ औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै यसले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुभकामना दिँदै विविध धर्म र संस्कृतिको संगमस्थलका रुपमा रहेको नेपालमा सबै धर्म, संस्कृति, समुदायको उचित सम्मान र संरक्षण गर्नका लागि संविधानले पर्याप्त व्यवस्था गरेको बताएका छन् ।

यसैबीच सरकारले आज मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मोहम्मद जयन्तीका अवसरमा सरकारले २०७४ सालदेखि सार्वजनिक विदा दिन थालेको हो ।