बिहिबार, बैशाख १३, २०८१

चमतीमा नव निर्मित वृद्ध विश्राम भवनसहित पार्कको शुभारम्भ

जेष्ठ नागरिकको सहज जीवन यापनका लागि काठमाडौँमा पूर्वाधार बढाउँदै जानुपर्छ : संघीय संसद सदस्य श्रेष्ठ

आयोजना क्षेत्रमा महानगरले पार्क बनाउने कि नबनाउने भन्ने द्विविधावीचपनि हामीले बनायौँ : प्रमुख शाक्य

काठमाडौं असोज ७,

काठमाडौँ महानगरको वडा १५ स्थित चमति जग्गा एकीकरण आयोजना क्षेत्रभित्र नव निर्मित वृद्ध विश्राम भवनसहितको पार्क को शुभारम्भ गरिएको छ । स्थानीयबासीको जग्गा योगदानबाट प्राप्त भएको १ रोपनी १४ आना जमिनमा २ तले भवनसहितको पार्क निर्माण गरिएको हो । पार्कलाई जेष्ठ नागरिकमैत्री बनाउन ठाउँ ठाउँमा देवी देवताका मूर्ति राखिएका छन् । यसरी राखिएका मूर्तिहरुमा महामञ्जुश्री, हारती माता, महादेव, बसुन्धरा देवी, बुद्ध, महाङ्काल, लुकु महाद्यः, गणेश, कुमार, लक्ष्मीनारायणलगायत छन् । यस्तै चैत्य र ४ वटा ढुङ्गेधारा पनि राखिएका छन् ।
पार्क निर्माण गर्न काठमाडौँ महानगरपालिका, चमती जग्गा एकीकरण आयोजना र स्थानीय पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत काठमाडौँ क्षेत्र नं. ८ का संसद जीवनराम श्रेष्ठको संसद कोषको लागत सहभागिता रहेको छ । यसका लागि चमति नेवाः खलसँगको सहकार्यमा स्थानीयले करीव ३० लाख रुपैयाँको सहभागिता जनाएका छन् ।

बुधवार आयोजित शुभारम्भ कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘आयोजनाको काम नसकिएका कारण स्थानीयबासीले करीव २० बर्ष दुःख पाइरहनुभएको थियो । व्यवस्थित विकासका लागि उहाँहरुको यो प्रतिक्षामा हामी पनि सँगै छौँ भनेर पार्क बनाउन हामीले लगानी गरेका हौँ । पार्क निर्माणसँगै हामीले यस क्षेत्रमा भएका सबै सडक कालोपत्रे गरेको बताउनुभयो ।

त्यस्तै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले, सकिँदै गएको खुल्ला ठाउँ बचाउन आजैबाट प्रयत्न थालिनु पर्ने बताउनुभयो । ‘स्थानीयको जग्गा योगदान पार्क निर्माणको सबल पक्ष हो । यसमा हामीले सघाउन पायौँ । सबैको संयुक्त प्रयासबाट एउटा देखाउन मिल्ने योजना सम्पन्न भएको बताउनुभयो ।

त्यस्तैगरि चमति आयोजना सम्पन्न हुने चरणमा पुगेकोमा खुशी व्यक्त गर्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, आयोजना सञ्चालन अवधिमा स्थानीयबाट प्राप्त सहयोगको प्रशंशा गर्दै गर्दा निर्माण समितिका संरक्षक पूर्णकाजी ज्यापूले पार्क निर्माण भएपछि स्थानीय सामाजिक जीवनमा परिवर्तन आउने अपैक्षा गर्नुभयो । उहाँकाअनुसार पार्कमा राखिएका देवीदेवताका मूर्ति स्थापनामा स्थानीयको आर्थिक योगदान रहेको बताउनुभयो ।