बिहिबार, चैत्र १५, २०८०

राष्ट्रिय पर्व इन्द्रजात्रा शुभारम्भको सूचक इन्द्रध्वजा हनुमानढोकामा विधिवतरुपमा फहराइयो

भक्तपुरमा पनि  यम्वोःद्यो ठड्याउँदै  इन्द्रजात्रा सुरु गरियो

काठमाडौं असोज २,
राजधानीमा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्राको शुभारम्भ स्वरुप हनुमानढोका दरवार परिसरमा आज विहान शुभ साइतमा इन्द्रध्वजा फहराइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशी अर्थात् नेपाल संवत्को ञलाःथ्व द्वादशीका दिन विधिपूर्वक लिङ्गो उठाएर ध्वजा चढाइने परम्परा रहिआएको छ। इन्द्रध्वजा फराइएपछि राजधानीमा इन्द्रजात्रा सात दिनसम्म मनाउँने गरिन्छ । इन्द्रध्वजा फहराउँने क्रममा गुर्जुको पल्टनले विशेष बाजागाजाका साथ तोप पड्काएर सलामी दिएको थियो।

त्यसैगरी यसअघि स्थानीय तलेजु भवानी मन्दिरमा राखिएको भवानीको प्रतीकका रुपमा सेतो घोडालाई ल्याएर पूजा गरिएको थियो। करिब ३२ हातको सो लिङ्गो भक्तपुरको चितपोलस्थित जङ्गलबाट हनुमानढोकामा पुर्‍याइएको थियो। इन्द्रजात्रामा गणेश, भैरव र श्रीकुमारीको रथयात्रा गर्ने चलन छ। सोही अवधिमा राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा उच्चपदस्थ अधिकारीबाट श्रीकुमारीको दर्शन गरिन्छ। यसैबीच हनुमानढोकास्थित   श्वेतभैरव सर्वसाधारणको दर्शनका लागि एक सातासम्म खुला गरिएको छ।

यसैवीच भक्तपुरमा पनि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन रहेको र यसरी ठड्याइएको लिङ्गोलाई नेवारी भाषामा यम्वोःद्यो भनिन्छ ।