बुधबार, बैशाख १२, २०८१

उपत्यकाका तीनै शहरमा महामारी मुक्तिको कामना गर्दै रूद्री पाठ

काठमाडौं भाद्र २०,

राजोपाध्याय समाजको आयोजनामा यस महिनाको पञ्चाभिषेक रूद्री पाठ कार्यक्रम शनिवार उपत्यकाका तीनै शहरमा सम्पन्न भएको छ । समाजले गएको महिनाबाट शुरु गरेको मासिक पञ्चाभिषेक रूद्री कार्यक्रम अन्तर्गत यस महिनाको रूद्री पाठ उपत्यकाका तीनै शहरमा एकै दिन एकै समयमा गरिएको हो ।

काठमाडौंमा मखनस्थित महिन्द्रेश्वर महादेव, ललितपुरमा मंगलबजारस्थित विश्वनाथ महादेव र भक्तपुरमा टौमढी नारायणचोकस्थित तिलेश्वर महादेवस्थानमा पाँच जना राजोपाध्याय देव ब्राम्हणहरुबाट रूद्री पाठ गरिएको थियो । गएको सातामात्रै ललितपुरमा नृसिंह जात्रा सम्पन्न गरेका देव ब्राम्हणहरुबाट भएको आजको रूद्री पाठमा तीनवटै शहरमा   काठमाडौं ढोकाटोल निवासी सुशील राजोपाध्याय र  काठमाडौं वटु टोल निवासी किशोर राजोपाध्यायले पाठ गरेका थिए ।

स्मरणीय छ, ढोकाटोल निवासी  ब्राम्हण सुशील केही दिन अघि मात्रै अमेरिकामा सम्पन्न आदिवासी जनजाति चलचित्र महोत्सव र निफ अवार्ड कार्यक्रममा जामनः गुभाःजु चलचित्रबाट उत्कृष्ट नायक र उत्कृष्ट पटकथा विधाबाट अवार्ड विजेतासमेत हुन् । त्यस्तै ललितपुरको रूद्रीमा २०६९ सालमा नृसिंह बनेका ललितपुर पिम्बहाल निवासी महेशबाबु शर्मा राजोपाध्यायले र भक्तपुरको कार्यक्रममा २०७४ सालको जात्रामा नृसिंह बनेका भक्तपुर खाइसिमाचुकका अन्जन राजोपाध्यायले रूद्री पाठ गरेका थिए ।

विश्वभरी कोभिड महामारीको अवस्थामा राजोपाध्यायले समाजले महामारीबाट मुक्ति र समग्र मानव समाजको सुस्वास्थ्यको कामनासहित गएको महिनाबाट पञ्चाभिषेक रूद्री पाठ कार्यक्रमको शुरुवात गरेको हो । समाजले शिवबास गरी हरेक महिना उपयुक्त दिनमा एकै दिन एकै समय उपत्यकाको तीनवटै शहरमा रूद्री पाठ गर्ने जनाएको छ । महोदवका पाँच वटा मुखमध्ये एक ब्राम्हणले एक मुखलाई अभिषेक गर्दै पाँच ब्राम्हणबाट पाठ गर्ने गरी पञ्चाभिषेक रूद्री कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनुभयो ।