मङ्लबार, बैशाख ११, २०८१

संसदमा जारी गतिरोधको सम्बोधनका लागि सभामुखबाट सर्वदलीय बैठक आव्हान

काठमाडौ भाद्र २८,
सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो समय संसदमा सिर्जित गतिरोधको सम्बोधन गर्ने लक्ष्य सहित सर्वदलीय बैठक आव्हान गर्नुभएको छ। एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन निषेधको माग गर्दै सिर्जना गर्दै आएको अवरोधका कारण संसद् बैठक कार्यसूचीमा प्रवेश नै नगरी मङ्गलबारसम्मका लागि स्थगित गरिएकोछ ।

यसरी पटकपटक संसद बैठक स्थगन हुँदा थुप्रै संसदीय कामकारवाही प्रभावित भएसंगै आज अपराह्न बैठक आव्हान गरिएको हो । आजको बैठकमा मुलत संसद्मा जारी गतिरोधको सम्बोधन संगै अन्त्य समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा  एमाले   संसदीय दलका नेता केपी  ओली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधवकुमार नेपाललाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ ।

त्यस्तै सचिवालयले जनता समाजवादी पार्टी  संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी  नेमकिपा  का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको जनाएकोछ ।