शुक्रबार, बैशाख १४, २०८१

बेलायती नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गर्ने राई पक्राउ

काठमाडौ असोज १२,
महानगरीय अपराध महाशाखाले आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा बुढानिलकण्ठ चुनिखेल बस्ने भोजपुर बस्ने ३१ वर्षीय केदार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार निजले केडि गोरखाली नामको फेसबुक आईडीबाट आफ्नै महिला साथीलाई आफू बेलायतको लाहुरे हुँ, बेलायत लैजान्छु, मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी हुँदै गएकोमा गत भाद्र १६ गते ग्राण्डी अस्पतालमा कलेजोको उपचाररत आमालाई केहि रकम आवश्यक परेको विश्वासमा पारी पटक पटक गरी १ लाख ६० हजार ५ सय रुपैयाँ, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल ठगी गरेको जनाएको छ ।

पीडितको सूचनाको आधारमा पक्राउ परेका निजउपर ठगी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाईएको महाशाखाले जनाएको छ ।