बिहिबार, बैशाख १३, २०८१

आज देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु

काठमाडौं असोज ५,
हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा रहिआएको छ । सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित छन् । त्यस्तै यस वर्ष द्वादशी तिथिमा मघा नक्षत्र परेकाले छोरा हुनेले त्यस दिन श्राद्ध गर्नु नहुने शास्त्रीय विधान रहेको छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।