शुक्रबार, चैत्र १६, २०८०

१४ बुँदे सहमतिसंगै फोहोरको अवरोध हटाउन स्थानीय सहमत, बुधवारबाट निर्वाध फोहोर उठ्ने

काठमाडौँ भाद्र १५ ,

सिसडोल बञ्चरे क्षेत्रका स्थानीयहरु फोहोरको अवरोध हटाउन सहमत भएका छन् । काठमाडौँ महानगरको वातावरण तथा कृषि विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी गाउँपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीसहित सिसडोल बञ्चरे क्षेत्रका स्थानीयविच भएको वार्ताबाट १४ बुँदे सहमति भएसंगै फोहोर सुचारु हुने भएको हो ।

सम्झौतामा तीनपिप्ले सिसडोल सडक १५ दिनभित्र ग्राभेल र त्यसपछि पिच गर्ने, यस सडक खण्डमा र महालक्ष्मी मन्दिर परिसरमा वृक्षारोपण गर्ने, फोहोर ढुवानी गर्ने गाडीहरुले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, तीनपिप्ले सिसडोल सडक खण्डमा पार्किङ् गर्न नपाइने, यस क्षेत्रको सडकलाई कित्ताकाट गरी मुआब्जा प्राप्त गर्ने विषयमा काठमाडौँ महानगरका प्रमुखसँग छलफल गर्ने, ओभर लोड गर्न नपाइने, फोहोर बोकेका गाडी सफा गरेर मात्र पार्किङ् गर्न पाइने, फोहोर ढुवानी सवारीका लागि विहान ४ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि टाइम कार्ड लागु गर्नेलगायत विषय समावेश छन् ।

यसैगरी बाटोमा खसेको बलामी गाउँ क्षेत्रको फोहोर व्यवस्थापन गर्न गाडीको व्यवस्था गर्ने, स्थानीय संघ संस्थाहरुसँगको सहकार्य र समन्वयमा प्रभावित क्षेत्रका विद्यालयहरुमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, यी विद्यालयहरुमा खेलकुदका सामाग्रीहरु सहयोग गर्ने, महालक्ष्मी मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण गर्ने विषय पनि सम्झौतामा उल्लेख गरिएको छ ।

फोहोर ढुवानी गर्ने सवारी चालकहरुको स्वास्थ्य परीक्षण र सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, यस अघि महानगर र स्थानीयविच भएका १७ बुँदे सहमति कार्यान्वयन गर्दै जाने र फोहोर ढुवानीमा गरिएको अवरोध आजैदेखि हटाउने सहमति भएको छ ।
वार्तामा महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख निर्मल बुढाथोकी, ल्याण्डफिल साइट इञ्चार्ज ख इञ्जिनियर सरकारदीप श्रेष्ठसहित स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।

यसैवीच आजै विहान काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले भोलि विहान ६ बजेबाट फोहोर ढुवानी कार्यलाई नियमित गर्ने निर्णय गरेको थियो ।

सडक भत्किनु प्राविधिक कारणले साइटमा फोहोर लैजान कठिनाइ भइरहेको थियो । यही अवस्थामा ककनी गाउँपालिका वडा १ की एकजना ७० बर्षिया वृद्धाको भाद्र ६ गते मृत्यु भयो । उनको मृत्यु हैजाको कारण भएको जनाउँदै स्थानीयले भाद्र  १० गतेदेखि साइटमा फोहोर लैजान अवरोध गर्दै आएका थिए ।

हैजाको एकिन गर्न महानगरबाट सम्भावित क्षेत्रका ५ जना व्यक्तिको दिशा र ४ वटा परिवारले पिउने गरेको पानीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएको थियो । प्रयोगशालाबाट प्राप्त रिपोर्टले त्यस क्षेत्रमा हैजाका जीवाणु नभेटिएको देखाएको छ । यसअघि फोहोर व्यवस्थापनका विषयमा सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य सहितको प्रतिनिधी मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहजीकरणका लागि अनुरोध गर्नुभएको थियो ।