बिहिबार, बैशाख १३, २०८१

३ हजार ९ सय १६ वटा अपराधमा ४ हजार ९ सय २ अभियुक्तहरू संलग्न : नेपाल प्रहरी

काठमाडौं भाद्र११,
नेपाल प्रहरीले गत साउन महिनामा दर्ता भएका कूल ३ हजार ९ सय १६ वटा अपराधमा ४ हजार ५ सय २८ पुरुष र ३ सय ७४ महिला गरि कुल ४ हजार ९ सय २ अभियुक्तहरू संलग्न रहेको जनाएको छ । त्यस मध्ये ३ हजार ७ सय १६ जना पक्राउ परेका छन् भने १ हजार १ सय ८६ जना अझै फरार रहेको जनाएको छ।

त्यस्तै साउन महिनामा अदालतबाट सजाय तोकिएका १ हजार १ सय १९ जना फरार प्रतिवादीहरू पक्राउ परेको उनिहरुबाट जरिवानाको विगो रकम ११ करोड ३० लाख ४९ हजार ८ सय ४७ रुपैयाँ असुल भएको जानकारीदिदै यसवीचमा विभिन्न शीर्षक मार्फत ३६ करोड ४७ लाख ६५ हजार ३ सय ३१ रुपैयाँ राजश्व संकलन भएको नेपाल प्रहरीले जनाएको छ ।

त्यस्तै साउन महिनामा भएका १ हजार ८ सय १८ वटा सवारी दुर्घटनामा परी १ सय ६० जनाको मृत्यु भएको छ भने ५ सय ४० जना गम्भीर घाइते भएको जनाउदै प्रहरीले औसतमा देशभरि प्रति दिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको तथ्याङ्कले देखाएको जानकारी दिएको छ । साथै यसवीचमा ३ सय ६१ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएकोमा ५ सय ५६ जना मानिसहरू पक्राउ परेको र पक्राउ परेका अभियुक्तसंग ३३५.८ किलो गाँजा, १८.९ किलो चरेश, ०.८९ ग्राम हेरोईन र ०.७ ग्राम अफिम बरामद भएको जनाएको छ ।

त्यस्तैसाउन महिनामा ज्यान सम्बन्धी ७ सय १८ वटा, आत्महत्याको ५ सय २ वटा, चोरीको २ सय ९६, संगठितरआर्थिक अपराध ५ सय ४४, सामाजिक अपराध ८ सय ९१, महिला बालबालिका विरुद्ध ४ सय ६६, सवारी सम्बन्धी १ सय ३२ र विविध तर्फ ३ सय ६७ वटा मुद्दा दर्ता भएको जानकारी दिएको छ । यसैगरी हातहतियार तथा खरखजाना सम्बन्धी २५ वटा, बाल यौन दुराचार २५ वटा, अपहरण वा शरीर बन्धक सम्बन्धी १४ वटा र मानव बेचबिखन तथा ओसारपसारका १७ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

साउन महिनाभरि ४ सय ३९ विपद्का घटनामा २३ जनाले ज्यान गुमाएका छन् भने ६९ जना घाइते भएका छन् । जसमध्ये पहिरोबाट ७, बाढीबाट ५, चट्याङबाट ५, जनावरको आक्रमणबाट २, आगलागीबाट २ र डुङ्गा दुर्घटनाबाट २ जनाको ज्यान गएको थियो । उद्धारको लागि २ हजार ७ सय ७ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको जनाउदै साउन महिनामा विभिन्न माध्यम मार्फत प्रहरी कर्मचारी विरुद्ध जम्मा ४८ वटा उजुरीहरू दर्ता भएकोमा १३ वटा उजुरीहरू फछर्यौट भएका छन् भने ३५ वटा कार्यान्वयनको चरणमा रहेका छन् । साथै २ सय २ जना प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही भएको जनाएको छ ।