मङ्लबार, बैशाख ११, २०८१

शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गर्दै मालिका केशरी

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

काठमाडौ भाद्र ५ ,
बौद्ध दर्शनका अध्येता एवम् साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा एक कार्यक्रमकावीच सार्वजनिकीकरण गरिएको छ। उपन्यासको इतिहासकार डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा सार्वजनिकीकरण गर्नभएको हो ।

कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उनले भने,– ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुङाल’ पाठकलाई रोचक र घोचक कोसेली हो ।’ यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उनले औंल्याए ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन् । उनले भनिन्,– ‘शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने बताउदै प्रस्तुत उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल भएको बताउनुभयो ।

यस्तै इतिहासकार डा. ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताउदै उनले भने,– ‘साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ । अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।’ उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै  आधुनिकता र परम्पराको समन्वयको खाँचो औंल्याएको बताए ।

कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताए । ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ’– उनले भने । मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उनको तेस्रो उपन्यास हो ।