बिहिबार, चैत्र १५, २०८०

यस्तो छ पत्रकार महासङ्घको जारी १३ बुँदे दामन घोषणा पत्र

काठमाडौं भाद्र १२,
नेपाल पत्रकार महासङ्घको तेस्रो कार्यमूलक बैठकले १३ बुँदे घोषणापत्र २०७८जारी गर्दै सम्पन्न भएको छ । गत चैत २५ गते सम्पन्न निर्वाचनबाट   निर्वाचित अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा रहेको  कार्यसमितिको ३ वर्षे कार्यकालका लागि रणनीति एवम् आवश्यक अन्यकार्य योजना तय गरिएको प्रस्तुत बैठकमा जिम्मेवारी बाँडफाँड कोभिड कहरका बीच पत्रकारहरुको अवस्था लगायतका विविध विषयम विस्तृत छलफल गर्दै दामन घोषणा पत्र जारी गरेको हो ।

यस्तो छ पत्रकार महासङ्घको तेस्रो कार्यमूलक बैठकले जारी गरेको १३ बुँदे दामन घोषणापत्र :

१. संघीय संसदमा विचाराधीन अवस्थामा रहेका मिडिया काउन्सिल सम्बन्धी विधेयक, सूचना प्रविधि सम्बन्धी विधेयक र सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयकहरुलाई संविधानको परिकल्पना अनुसार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनेगरी आवश्यक संसोधन गर्न आह्वान गर्दै अवश्यकता त्यसका लागि संसदीय समितिलगायत सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ ।
२. प्रदेश र स्थानीय तहले मिडिया प्रवद्र्धन गर्ने कानून ल्याउनु पर्नेमा मिडिया नियमन गर्ने नाममा प्रेस स्वतन्त्रताका मूलभुत मान्यताकोविरुद्ध हुने खालका कानून निर्माण प्रकृया अघि बढाएको पाइएकाले त्यस्ता कानूनलाई प्रेसमैत्री बनाउन बैठकले सम्बन्धित प्रदेश तथा स्थानीय तहसँग माग गरेको छ ।
३. श्रमजीवी पत्रकारहरुको समस्या समाधानका लागि दबाब, छलफल, कानूनी प्रकृया र प्रदर्शन लगायत संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै सामूहिक सौदावाजीमार्फत श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्न अगाडि बढ्ने निर्णय गरेको छ ।
४.   कोभिड १९ महामारीका कारण समस्यामा परेका साना लगानीमा सञ्चालित स्वरोजगारमुलक तथा विभिन्न मातृभाषाका सञ्चारमाध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वृद्धि गर्नका लागि सरकारसंग माग राख्ने साथै स्थानीय तह तथा प्रदेश सरकारका निकायहरुबाट उपलव्ध हुने विज्ञापन स्थानीय सञ्चार माध्यमहरुमै अनिवार्य रुपमा प्रकाशन र प्रसारण गर्न आवश्यक कानुन तथा नीतिहरु तत्काल परिवर्तन गर्न आव्हान गरेको छ । साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न माग गरेको छ ।
५. हाल कायम रहेको दुर्घटना बीमालाई प्रभावकारी बनाउँदै र स्वास्थ्य बीमाका लागि पहल गर्ने र सबै सरकारी अस्पतालमा पत्रकारको निःशुल्क उपचार गर्ने बजेटको व्यवस्थालाई कार्यान्वयन गर्न संवाद तथा छलफलका माध्यमबाट पहल गर्ने निर्णय गरेको छ ।
६. महासंघको सदस्यता शुद्धीकरणका लागि राजनीतिक दलको कार्यकारी भूमिकामा कायम रहेकाहरुको सदस्यता खारेज गर्नुका साथै निरन्तर दुई वर्षसम्म सदस्यता नवीकरण नगरेका सदस्यहरुको सदस्यता खारेज गर्ने निर्णय गरिएको छ । आवश्यक परेमा विधानसभा आयोजना गरी सदस्यता शुद्धीकरण तथा सांगठनिक संरचनामा आवश्यक फेरबदल गर्ने निर्णय गरिएको छ ।
७. महासंघको केन्द्रीय साधारणसभाबाट स्वीकृत सदस्यले मात्रै महाधिवेशनमा मताधिकार दिने गरी विधान संशोधनको प्रस्ताव आगमी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।
८. महासंघलाई थप समावेशी बनाउन र पछाडि पारिएका समुदायका पत्रकारलाई महासंघको नेतृत्वमा ल्याउनका लागि विधान संशोधन प्रस्ताव ल्याउने र पत्रकार महिला, दलित, आदिवासी जनजातिसहित समावेशी क्षेत्रका पत्रकारहरुको गुणात्मक संख्या बढाउन प्रोत्साहन गर्ने गरी तालिम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
९. मकवानपुर जिल्ला शाखाले थालेको वरिष्ठ पत्रकार पेन्सन कोषका लागि शाखालाई धन्यवाद दिंदै अन्य जिल्ला र केन्द्रमा पनि यस्तो कोष सञ्चालनका लागि प्रोत्साहन गर्ने निर्णय गरिएको छ ।
१०. मोफसलमा क्रियाशील सञ्चारकर्मीका लागि पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा आवश्यक कार्यक्रम सञ्चालन गर्ने र विधागत पत्रकारितालाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय विधागत संस्थाहरुसँग समन्वय गर्ने र भाइचारा अभिवृद्धि गर्ने निर्णय गरेको छ । यसका लागि एसोसियट प्रदेश समिति तथा संस्थाहरुसँग समन्वय गर्ने ।
११. काठमाडौं उपत्यकाबाट नजिकै रहेको उत्तरी मकवानपुरको पर्यटकीय गन्तव्य दामनसहित ऐतिहासिक टिस्टुङ, पालुङ र चित्लाङ लगायत समग्र मकवानपुरको पर्यटकीय विकास र प्रवद्र्धनका लागि प्रदेश तथा संघीय सरकारलाई विशेष योजना ल्याउन आग्रह गर्दै यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्व उजागर गर्न र अध्ययन गर्न चाहने पत्रकारहरुका लागि स्थानीय सरकारले पत्रकार लेखनवृत्ति वा छात्रवृत्ति स्थापना गर्नका साथै पुरस्कार, अनुभव आदानप्रदान तथा भ्रमण कार्यक्रमहरु सञ्चालन गर्न सम्बद्ध सबैसँग यो बैठक आग्रह गर्दछ ।
१२. दामन मकवानपुरमा जन्मिएका थाहा आन्दोलनका अभियन्ता स्वर्गीय रुपचन्द्र विष्टले सुरुवात गरेको थाहा अभियान (सूचनाको हक)ले नै सूचनाको हक जागरणमा चेतना वृद्धि गरेको स्मरण गर्दै संघीय, प्रदेश तथा स्थानीय सरकारका गतिविधिहरु पारदर्शी र जनताप्रति उत्तरदायी पार्नका लागि सूचनाको हकलाई थप प्रभावकारी र पारदर्शी पार्न माग गरेको छ ।
१३. नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पर्यटकीयस्थल मकवानपुरको दामनमा आयोजना गर्न संयोजन तथा सहयोग गर्ने नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखालाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।