बिहिबार, बैशाख ६, २०८१

मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना , आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं असार २६
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर बढ्दो मनसुनी वायुको प्रभावका कारण मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ । साथै महाशाखाले काठमाडौ उपत्यकामा बिहान घाम लागे पनि अहिले मध्यान्न पछिको मौसम बदली रहनुको अलावा उपत्यका र आसपासका क्षेत्रमा वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै महाशाखाले जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना औल्याएको छ ।

त्यस्तै रातिको समयमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएकोछ ।