शनिबार, बैशाख ८, २०८१

आजबाट उपत्यकामा जोरबिजोर प्रणाली रहितको निषेधाज्ञा कार्यान्वयनमा

माइक्रो र टेम्पो लगायत सवै किसिमका सवारी चलाउन पाइने

काठमाडौं असार २२,
काठमाडौ उपत्यकामा थप एक साताका लागि विस्तार गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । असार ३१ गते राति १२ बजेसम्म कायम रहने गरि यसपटक जारी निषेधाज्ञा आदेशमा यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

त्यस्तै जारी आदेशमा सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न र सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न निर्देश गरिएको छ। साथै भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्म निर्वाद रुपमा सञ्चालन गर्न पाउने व्यवस्था गरिएपनि सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा भने पूर्ण रोक लगाइएको छ ।

यस्तै पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिकरूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठपाठनका गतिविधिमा पनि रोक लगाइएकोछ ।  सफा टेम्पो र तथा निलो माइक्रोबसलाई पछाडिको तेर्सो सिटमा चाररचार र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ । गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउनु पर्नेछ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधान बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।

त्यस्तै पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा , गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रम सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला नर्गन भनिएकोछ ।