शनिबार, बैशाख ८, २०८१

नेपाली सेनाद्वारा प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण

काठमाडौ असार २१,
प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्‍डामा सोमबार आयोजित एक कार्यक्रमकाबीच विभिन्न किसिमका ३ सय नाल हतियार तथा सोको ४२ हजार ३ सय ७० गोटा एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ जेठ १७ गतेको निर्णयबमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरी जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने योजना अनुसार पहिलो चरणमा ३ सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरिएको हो । नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन प्रयोजनार्थ उक्त हतियार उपलब्ध गराउन नेपाल सरकारबाट निर्णय भएको   हो ।

त्यस अवसरमा नेपाली सेनाको तर्फबाट हतियार तथा उपकरण महाशाखा प्रमुख महासेनानी राजेन्द्र मणि गिरी र नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागका प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा बिच नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण सम्बन्धि सम्झौता पत्र आदान प्रदान भएको थियो भने प्रधान सेनापति महारथी थापालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।