शनिबार, बैशाख ८, २०८१

कात्तिक मसान्तभित्र आवास अनुदानको तेस्रो किस्ता लिनेगरी पुनःनिर्माण गर्न आग्रह

काठमाडौं असार १८,
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको आज बसेको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी पुनःनिर्माण गर्न अनुरोध गरेको छ ।

त्यस्तै बैठकले यसको लागि पुनःनिर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गर्नुको अलावा लाभग्राहीले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनर्निर्माणका लागि प्राधिकरणले तयार गरेको कबुलियतनामा अनुरुप सम्बन्धित वडा अध्यक्षले सिफारिसमा प्राधिकरणको जिल्ला इकाईले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार संझौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउने भएकोछ ।

 प्राधिकरणका अनुसार हालसम्म अनुदान सम्झौता गरेकामध्ये ७४।६८ प्रतिशत अर्थात छ लाख ११ हजार २४१ घरधुरीले निजी आवास पुनःनिर्माण सम्पन्न गरिसकेका छन् । पुनःनिर्माण गरिरहेका लाभग्राहीको सङ्ख्या १ लाख ४६ हजार १५३ रहेको प्राधिकरणले जनाएको छ । घर पुनःनिर्माण शुरु गरेका कुल लाभग्राहीको सङ्ख्या सात लाख ५७ हजार ३९४ पुगेको जनाएकोछ ।

 प्रबलीकरण लाभग्राहीमध्ये कैयौँ पुनःनिर्माण लाभग्राहीमा परिवर्तन भएपश्चात् हाल यस्ता लाभग्राहीको सङ्ख्या ५३ हजार ९५८ कायम भएको र तीमध्ये ८४।९१ प्रतिशत अर्थात ४५ हजार ८१४ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ४५ हजार ७८१ अर्थात ९९।९३ प्रतिशतले पहिलो किस्ता लिइसकेको जनाएको छ ।