शनिबार, बैशाख ८, २०८१

अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थपियो , अब सातामा कुल ५३ वटा उडान हुने

काठमाडौं असार २५ ,
सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी विभिन्न मुलुकमा उडान तालिका तय भएकोमा नयाँ निर्णयअनुसार अब सातामा कुल ५३ वटा उडान हुने भएको छ ।

मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान मात्र हुनेछ । यसमध्ये एउटा उडान नेपाल एयरलाइन्स [बुधबार] र अर्को उडान एयर इण्डिया [सोमबार] गर्नेछन् ।

यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एकरएक उडान गर्ने भएका छन् ।

कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एकरएक उडान गरि साताको सातै दिन जहाज उडाउने अनुमति पाएका छन् । दोहामा हिमालय एयरलाइन्सले सोमबार, बुधबार र शनिबार जहाज उडाउने छ ।

साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडान गर्ने अनुमति पाएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान भर्ने छ । त्यसतै हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने उल्लेख गरिएके छ ।

जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडानको  अनुमति पाएको छ ।