काठमाडौ असार ९,
सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी रिटको अन्तिम सुनवाइ आजबाट शुरु हुँदैछ । काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो । यसअघि सर्वोच्चको आदेशअनुसार संसद विघटनसम्बन्धी रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले लिखित जवाफ पेस गरिसक्नुभएको छ ।
यसवीचमा संवैधानिक इजलासको आदेशअनुसार नेपाल बार एसोसिएसनले राघवलाल वैद्य र उषा मल्ल पाठकलाई त्यस्तै सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका लागि सिफारिस गरिसकेका छन् ।
साथै इजलासले यसअघिनै निवेदकहरूलाई कुल १५ घण्टा समयसिमा निर्धारण गर्दै सुरु बहसका लागि १२ र विपक्षीको बहसपछि जवाफ फर्काउन ३ घण्टा समय तोकिसेका छन । यस्तै सरकारी वकिल र विपक्षीका तर्फबाट प्रतिनिधित्व गर्ने अन्य कानुन व्यवसायीलाई पनि १५ घण्टाको समय दिइएको छ । समय व्यवस्थापनमा सरकारी र प्रत्यार्थीका कानुन व्यवसायीबीच सहमति नभए दुवैले साढे ७ घण्टाको समय पाउने आदेश समेत भइसकेको छ ।