बिहिबार, चैत्र १५, २०८०

कांग्रेस महाधिवेशन भाद्र १६ –१९ काठमाडौमा

काठमाडौ असार ५ ,

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भाद्र १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रवार बसेको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गर्दै १४ औँ महाधिवेशनको मिति तोकेको हो ।

१४ औँ महाधिवेशनको संशोधित कार्यतालिकानुसार गाउँ.नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ.नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशनका लागि भाद्र १ र २ गतेको समय तोकिएको छ।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर सहितको ठेली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्रका लागि तोकिएको छ ।  त्यस्तै बैठकले संविधान र लोकतन्त्रको रक्षार्थ राजनीतिक दलबीच समान धारणाका साथ अगाडि बढ्ने प्रतिबद्धता अभिव्यक्त गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयका विरुद्ध संवैधानिक उपचारका लागि सर्वोच्च अदालतमा गएको उल्लेख गर्दै बैठक पछि जारी विज्ञप्तिमा संविधानको व्यवस्थाबमोजिम १३६ प्रतिनिधिसभा सदस्यको समर्थन प्रधानमन्त्री नियुक्त गर्न पर्याप्त हुने अवस्था रहेको र सांसद देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने दाबीमा प्रतिनिधिसभाका बहुमत सदस्य १४९ जनाको हस्ताक्षरसमेत रहेको उल्लेख गरिएको छ।