बिहिबार, बैशाख १३, २०८१

आम नेपाली जनतालाई खोपको सुनिश्चितता गर्न काँग्रेसको माग

 बाढी पहिरो पिडितलाइ तत्काल राहतको व्यवस्था गर्दै सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं असार ४,
नेपाली काँग्रेसको विहिवार बसेको केन्द्रीय समितिको बैठकले आम नेपाली जनतालाई खोपको सुनिश्चितता गर्न सरकारसंग माग गरेको छ । त्यस्तै पहिलो डोज खोप लगाएका नागरिले निर्धारित समयमा दोस्रो डोजको खोप पाउन नसक्दा पहिलो खोपको प्रभाव समेत निष्प्रभावी बन्दै भएका जनाउ सहित सरकारको ध्यानाकर्षण सहित यस्तो माग गरेको हो ।

​त्यस्तै बैठकले मुलुकमा मनसुन भित्रिएसंगै शुरु भएको वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै हरेक वर्षायाममा आउने यस प्रकारको विपत्तिबाट जोगिन पूर्वतयारीमा जुट्नुपर्नेमा सरकारले त्यस तर्फ कुनै पहलकद्मी नलिएको भन्दै तत्काल सिन्धुपाल्चोक मनाङ, गोरखा, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, डोटी, जाजरकोट, ताप्लेजुङ्ग लगायतका विभिन्न जिल्लाका बाढी पहिरो पिडितबाट विस्थापित मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्न र राहत कार्यमा जिम्मेदारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको छ ।

त्यस्तै कोभिड जोखिमको नामम जारी लकडाउनका कारण आर्थिक सङ्कटमा परेका निम्न वर्ग र श्रमिकहरूलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्दै ​बन्दका कारण साना, मझौला व्यवसायीहरूले भोग्नुपरेको मर्कालाई ध्यानमा राखी ब्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुनर्कर्जाको व्यवस्था सुनिश्चित गर्न भनिएको छ।

​त्यस्तै १४ औं महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव प्रस्तुत गरिएको उक्त बैठकले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले जेष्ठ २८ गते प्रदेश सभामा दिएको अभिव्यक्ति अमर्यादित भएको भन्दै केन्द्रीय निर्देशन अनुसार वैद्यले आफूले बोलेको कुरा फिर्ता लिई जेष्ठ २९ गतेको प्रदेश सभा बैठकमा संसदको रेकर्डबाट हटाइ सक्दा पनि वैद्य विरुद्ध जाहेरी दर्ता गर्नु र प्रक्रिया अगाडि वढाउन खोज्ने वदनियतप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

​मित्र राष्ट्रहरूले गरेको अन्तर्राष्ट्रिय खोप सहयोगको घोषणालाई स्वागत गर्दै नेपालमा सङ्क्रमणको स्थितिलाई ध्यानमा राखी जति सक्दो खोप सहयोग उपलब्ध गराउन अनुरोध गर्दै पार्टीका विभिन तह र तप्काका नेता तथा कार्यकर्ताको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, शङ्कर भण्डारी, गगनकुमार थापा, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, शिवप्रसाद हुमागाईं लगायतले धारणा राख्नुभएको थियो । महाधिवेशनको कार्यतालिका परिवर्तन गर्नेलगायतका विषयमा छलफल आज पनि काक्ँग्रेस केन्द्री समितिको बैठक बस्ने भएको छ