बिहिबार, चैत्र १५, २०८०

स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने ३ दर्जन अभियुक्त पक्राउ

काठमाडौं जेठ २०,

कोभिड- १९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सामग्री अन्र्तगत अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरुलाई उक्त अवधिमा देशभरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान गरिएको प्रहरीले जनाएके छ ।

त्यस्तै प्रहरीले पक्राउ गरेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पिसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने, १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री गर्ने र ५ जना निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने तथा अनावश्यक हिँड्डुल रोक्ने कार्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने रहेको जनाएको छ।

साथै उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रिमडेसिभिर तथा १ थान नक्कली रिमडेसिभिर, १ थान अक्सिजन सिलिन्डर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरू, २ थान विलप्याड र ४६ वटा कार्टुन विभिन्न औषधि बरामद भएको जानकारी दिएको छ।

साथै विद्यमान विष्म परिस्थितिको फाइदा उठाउँदै गुणस्तरहीन स्वास्थ्य सामग्री उत्पादन गरी विक्री गर्ने, तोकिएको मूल्य भन्दा बढी मूल्यमा विक्री गर्ने, अर्कै कम्पनीको लेबुल टाँस गरी नक्कली सामग्री उत्पादन गर्ने, मापदण्ड विपरीत हानिकारक पदार्थ मिसावट गरी उत्पादन तथा विक्री गर्नेहरुमाथि प्रहरीको निगरानी निरन्तर कायम छ । साथै कोही कसैबाट अनियमितता वा कालोबजारी भइरहेको थाहा हुन आएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा सूचना गर्न सम्पूर्ण सरोकारवाला निकाय र आमनागरिकमा प्रहरी प्रधान कार्यालयले अनुरोध समेत गरेको  छ ।