बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा जारी निषेधाज्ञाको समयसिमा जेठ ३१ सम्म थप गर्ने प्रशासनको निर्णय

काठमाडौं जेठ १९,
काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले कोभिड संक्रमणको बढ्दो रफ्तारको चेन ब्रेकका लागि जारी निषेधाज्ञा आगामी जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा निषेधाज्ञाको पछिल्लोपटक थप गरिएको समयसिमा जेठ २० गते राती १२ पछि सकिँदैछ । यसअवधीमा प्रशासनले कडाइ गर्दै किराना तथा डिपार्टमेन्टल स्टोर समेत बन्द गराएको थियो ।

तर यसपटक जारी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय भएपनि यसवीचमा स्वास्थ्य मापदण्ड सहित बिहान ९ बजेसम्म खाद्यान्न, डिपार्टमेन्टल स्टोर र पुस्तक पसल, तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल सचालन गर्न पाइने भएको छ ।

त्यस्तै निर्माण क्षेत्रलाई पुनः गतिशील बनाउन रात्रिकालीन समयमा सामान ढुवानी गर्न दिने प्रशासनले निर्णय गरेको छ । निर्माण क्षेत्रमा संलग्न कामदारलाई कार्यक्षेत्रमै मापदण्ड पूरा गरेर बस्न र काम गराउन सकिने व्यवस्था गरिएको जानकारी दिदै यसको औपचारिक आदेश पत्र आजै सार्वजनिक हुने प्रशासन कार्यालयका अधिकारीहरुले जनाएको छ ।