शनिबार, बैशाख ८, २०८१

मुलुकको अग्रगामी परिवर्तनका लागि विपीले खेल्नु भएको भूमिका महत्वपूर्ण : सभापति देउवा

   महानगरको रु २ करोड आर्थिक सहयोगमा बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास 

बिपीको कार्यकर्ता नभए पनि अनुयायी हुँः महानगर प्रमुख शाक्य

काठमाडौँ असार १६,
जननायक बिपी कोइराला मेमोरियल ट्रष्टले ‘ बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । काठमाडौ महानगरको वडा ५ हाँडीगाउँमा निर्माण हुने भवनको आज काँग्रेस सभापति शेरबहादुर देउवा, बिपीपुत्र डा. शशांक कोइराला र काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरले २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । भवन निर्माणका लागि वागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराउने छ भने ट्रष्टले १ करोड रुपैयाँ लगानी गर्नेछ । थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ । भवन निर्माणको लागत करीब ४ करोड ५० लाख रहने अनुमान छ ।


शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस सभापति देउवाले बिपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौँ महानगरपालिका र प्रदेश सरकारले उपलब्ध गराएको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद दिनुभयो । ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो’ देउवाले भन्नुभयो, ‘विपी विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता भएको बताउदै तत्कालीन समयमा मुलुकको अग्रगामी परिवर्तनका लागि विपीले खेल्नु भएको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

त्यस्तै काँग्रेस महामन्त्री समेत रहनु भएका विपीपुत्र शशांकले विपीकोे स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाका प्रमुखज्युलाई धन्यवाद, दिदै कोइरालाले भन्नुभयो, ‘उहाँले बजेट दिनुभयो । त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका हौँ । भवन त संरचना मात्रै हो । त्यहाँ आत्मा हुनुपर्छ । आत्माले नै प्रोत्साहन गर्ने हो । आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला ।’

त्यस्तै गरि कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरका प्रमुख शाक्यले आफु कुनै समय बिपीलाई हेर्न र सुन्न सार्बजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज उहाँकै स्मृतिमा अध्ययन अनुसन्धान केन्द्र निर्माण हुन लागेकोमा प्रशन्नता व्यक्त गर्नुभयो । साथै ‘कुनै समय टाढाबाट सुनेको, हेरिएको र आफूले पनि सम्मान गरेको व्यक्तिको स्मृतिमा निर्माण हुने भवनलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । त्यस्तै प्रमुख शाक्यले ‘२०१५ सालमा विपीले ल्याएको दुई–तिहाईको सरकार तत्कालीन शासकबाट खोसिएको स्मरण सहित काँग्रेस सभापति देउवातिर संकेत गर्दै दुर्घटनाबाट देशलाई बचाउन आग्रह गर्दै उहाँले आफू स्वर्गीय बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको बताउनुभयो ।
कार्यक्रममा  महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष रमेश डंगोलसहित विभिन्न क्षेत्रका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।