शुक्रबार, चैत्र १६, २०८०

नागरिक स्वास्थ्य वीमा कार्यक्रम’ सहित महानगरको नीति तथा कार्यक्रम पारित

जनप्रतिनिधिले दलको भन्दा जनहितलाई मनन गर्न महानगर प्रमुख शाक्यको आग्रह

काठमाडौं असार ६,
काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष ०७८/०७९ को बार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । प्रस्तावका विषयमा ५ गते छलफल गर्ने कार्यक्रम थियो । सभामा राखिएका प्रस्तावमाथि उपप्रमुखसहित काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अध्ययन गर्न २ दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजका लागि बैठक डाक्नु भएको थियो । आजको बैठकमा उपप्रमुख, वडाध्यक्षसहित जनप्रतिनिधिले नीति –तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाउनुभएको थियो । प्रमुख शाक्यले उहाँहरुको सुझाव ग्रहण गर्दै बैठक सुचारु गर्नुभएको थियो ।

प्रमुख शाक्यले सुझाव ग्रहणको क्रममा जनप्रतिनिधिले पार्टीको प्रतिनिधिभन्दा माथि उठ्नु पर्ने बताउनुभयो । ‘हाम्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट ल्याउँदै गरेको बताउदै उहाँले भन्नुभयो, ‘म नेकपा एमालेका तर्फबाट उम्मेदवार थिएँ । त्यो भनेको म एमाले वा मलाई मतदान गर्ने मतदाताको मात्रै मेयर होइन । निर्वाचित भएपछि म काठमाडौँ महानगरपालिकाको मेयर हुँ । उपमेयर, वडाध्यक्ष र सदस्यहरु पनि कुनै दलको होइन तपाईँहरु जनप्रतिनिधि हो । मैले मेयर निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिन, गर्दिन । त्यसैले तपाईँहरु पनि दलको भन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला म पनि त्यही गर्छु र गरिरहेको छु ।’

प्रमुख  शाक्यले आन्तरिक समस्यालाई छलफलका माध्यमबाट आन्तरिक रुपमै समाधान गर्न सकिने भन्दै यस्ता विषयलाई बाह्य चर्चाको बिषय बनाउनु नहुने बताउनुभयो । ‘विगतमा सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्ने गरेको परम्परा छ । यस अधिवेसनको पहिलो बैठकमा उपप्रमुखसहित केही नगर सभा सदस्य साथीहरु अनुपस्थित रहनुभयो,’ शाक्यले भन्नुभयो, ‘मैले सबैसम्मत निर्णयका लागि २ दिनको समय थप गरेको थिएँ । अनुपस्थित सदस्यकातर्फबाट आजको बैठकमा उपप्रमुखले केही सुझाव राख्नुभयो । यसरी राखिएका सुझावमध्ये धेरै जसो नीति–तथा कार्यक्रममा समावेश भैसकेका छन् । केहीचाँहि सुन्दा लोकप्रिय जस्ता सुनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न सम्भव नहुने सुझाव छन् । बाँकी सम्भव हुने सुझावलाई नीति–तथा कार्यक्रममा समावेश गर्ने बताउनुभयो ।

साथै उहाँँले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यता अनुसार नीति–तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर उहाँहरुको सुझावलाई समेत सकारात्मक रुपमा दिदैँ थप बलियो बनाएर जान्छौँ ।’  शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने , महानगरवासीलाई ‘नागरिक स्वास्थ्य वीमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।