बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा जारी निषेधाज्ञा थप सहजता सहित एकसाता लम्बियो

काठमाडौं असार १४ ,

काठमाडौं उपत्यकामा कोभिड संक्रमणको चेन व्रेक गर्नका लागि भन्दै गत बैशाख १६ गतेबाट श्रृखलावद्ध रुपमा जारी निषेधाज्ञा पुन एक साताको लागि थप गरिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यसपटक थप गरिएको निषेधाज्ञा आदेश गत साता भन्दा थप खुकुलो बनाउँदै एकसाताका लागि लम्ब्याउने निर्णय गरेको हो।

उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको र पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ पछि सकिँदै गर्दा आजै अपरान्ह प्रजिहहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्ने र यसवीचमा स्वास्थ्यका मापदण्ड पालना गर्दै उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बससेवा समेत सञ्चालन गर्न दिने निर्णय गरेको  छ ।

त्यस्तै बैठक पछि जारी आदेशमा मंगलवार देखि लागु हुने गरि उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस स्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने तर बसमा स्वास्थ्य सुरक्षाका सामाग्री व्यवस्था अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी आजको बैठकले यसअघि पसलहरुमा लगाइदै आएको बार प्रणाली हटाउनुको अलावा बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न दिइएका पसलहरु अवका दिनमा खाद्यान्नका पसलको हकमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइन्छ भने अन्य पसलको हकमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न दिइने भएको छ।

त्यस्तै सार्वजनिक तथा निजी निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ः०० देखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था संगै पत्रकारलाई सूचना विभाग वा मिडिया हाउसले जारी पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको जारी सूचनामा उल्ल्ेख गरिएको छ ।

त्यस्तै सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसकोहरुको भीडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा भने अझै रोक लगाइएको छ ।