शनिबार, बैशाख ८, २०८१

आगलागी, पिडितलाई कांग्रेसको सहयोग

भक्तपुर असार १२,
चाँगुनारायण नगरपालिका–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान समेत जलेर नष्ट भएको छ ।

यसैबीच घटना लगत्तै बागमति प्रदेश नेपाली कांग्रेस संसदिय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, सचिव जनक खत्रीसहितको टोली घटनास्थल पुगेर पिडितलाई सहयोग गरेको छ । पिडित परिवारलाई कांग्रेसको टोलीले नगद ५ हजारसहित लत्ताकपडा, खाद्यान्न, ग्यास, ग्यासचूलो लगायतका सामग्री सहयोग गरेको क्षेत्रीय सभापति जीवन खत्रीले जानकारी दिनुभयो । साथै नेपाल रेडक्रस सोसाईटी चाँगुनारायण उपशाखाले पिडित परिवारलाई भाँडावर्तन सहयोग गरेको सचिव दिवाकर पौडेलले जानकारी दिनुभयो ।

कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको निर्देशनमा पिडित मिजार परिवारलाई सहयोग गरेको क्षेत्रीय सभापति खत्रीले बताउनुभयो । सभापति थापाको विशेष पहलमा नेपाली कांग्रेस भक्तपुरले विपतमा परेका नागरिकलाई तत्काल सहयोग गर्न कोष स्थापना गरेको छ । सो कोषमार्फत विपतमा परेका भक्तपुरका नागरिकलाई सहयोग गर्ने नीति कांग्रेसले लिएको खत्रीले बताउनुभयो ।

कांग्रेसको यो अभियान सहयोग गर्न नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति खत्री र क्षेत्र नं. २ का सभापति नारायणभक्त खायमलीले पार्टी शुभचिन्तक, नेता कार्यकर्ताहरुलाई आह्वान समेत गर्नुभएको छ । एकलाई विपद आइपर्दा अर्कोले सहयोग गर्ने नेपाली कांग्रेसको परम्परा र नीति रहेको भन्दै जिल्ला सभापति दुर्लभ थापाले वर्षातको बेला आइपर्न सक्ने विपतिप्रति सचेत रहन विपतमा परेकालाई सहयोगका अग्रसर हुन जिल्ला सभापति थापाले आग्रह गर्नुभएको छ । कांग्रेसले हालै सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले क्षति गरेका पिडितहरुलाई खाद्यान्न लगायत नगद ३ लाख ५१ हजार सहयोग गरेको थियो ।