सोमवार, बैशाख ३, २०८१

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दलका नेता पोखरेल नियुक्त

काठमाडौं जेठ २९
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ५ अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघिका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाको बैठकममा विस्वासको मत लिनका लागि प्रदेश सभामा राखेको प्रस्ताव अस्वीकृत भएसंगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएको थियो ।

त्यसपछि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि २९ गते दिउसो ३ बजेका लागी समयसिमा तोक्दै आह्वान गरे अनुरुप कांग्रेस नेता पोखरेलले शुक्रबार कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमो र एक जना स्वतन्त्र सांसद्को समेत गरि ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।

त्यस्तै यसअघिका मुख्यमन्त्री गुरुङले पनि राजमोका पदमुक्त सांसद कृष्ण थापा र जसपाका महन्थ ठाकुर पक्षको प्रदेश समितिको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर, प्रदेश प्रमुख पौडेलले गुरुङको दावीलाइ अस्वीकार गर्दै पोखरेललाई नियुक्त गरेकी हुन्।

पोखरेललाई आजै सपथ खुवाउने तयारी रहेको बुझिएको छ। साथै संविधानको धारा १६८ ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ।