बुधबार, बैशाख १२, २०८१

कोभिड संक्रमणका कारण थप एक पत्रकारको मृत्यु, मृतक पत्रकारको संख्या १९ पुग्यो

काठमाडौं जेठ १६,
कोभिड संक्रमणका कारण आज डेढ दशकदेखि पत्रकारितामा सक्रिय थप एक जना पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाका कार्यसमिति सदस्य समेत रहेको पत्रकार रविन्द्र गौतमको कोभिड संक्रमणका कारण ३८ वर्षको अल्पायुमै असामयिक निधन भएको हो । नेपाल पत्रकार महासंघका अनुसार कोभिड संक्रमण पुष्टि भएपछि जेठ ९ गते चरिकोट अस्पतालबाट काठमाडौं ल्याई नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचाररत गौतमको स्वास्थ्यमा थप समस्या आएपछि गएरातिदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज दिउँसो उपचारकै क्रममा निधन भएको जनाएको छ।

त्यस्तै महासंघले आज जारी शोक विज्ञप्तिमा अन्नपूर्ण पोष्ट दैनिकको दोलखा सम्वाददाता तथा दोलखास्थित रेडियो भिमेश्वरका स्टेशन म्यानेजर समेत रहेको पत्रकार गौतमको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको मात्र नभइ सक्रिय सदस्य गुमाएको उल्लेख गर्दै स्वर्गीय पत्रकार गौतमप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना संगै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।  पत्रकार गौतमका आमा, श्रीमती, ९ वर्ष र ६ महिनाकी दुई छोरी रहका छन् ।

कोभिड संक्रमणका कारण हालसम्म १९ जना पत्रकारको निधन भएको छ भने ९ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोभिड संक्रमणको दर बढिरहेको छ । कोभिड संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारहरुलाइ अपिल गरेको छ ।

यसैवीच पत्रकार महासङ्घ पाँचथर शाखाका ५२ वर्षय उपाध्यक्ष एकराज भण्डारीको पनि कोभिड सङ्क्रमणका कारण झापाको बिर्तासिटी अस्पताल शनिबार अपराह्न ४ः३० बजे निधन भएको महासंघलृ जनाएको छ। महासघद्दारा जारी विज्ञप्तिमा श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार निधन भएको जनाउदै भण्डारीको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छ ।