बिहिबार, चैत्र १५, २०८०

यस्तो छ ७६ को [५] बमोजिम नयाँ सरकार गठनका लागि काँग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीको आ-आफ्नै दाबी

काठमाडौ जेठ ७,
राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री केपी ओलीको आग्रहमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपतिको कार्यालयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलले आआफ्नो दावी प्रस्तुत गरेका छन । ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि विपक्षी दलको गठबन्धनका सांसदको हस्ताक्षरसहित आज राष्ट्रपतिको कार्यालयमा उक्त दाबी गर्नुभएको हो ।

सभापति देउवाको दाबीमा कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६, जनता समाजवादी पार्टी नेपालका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ प्रतिनिधिसभाका सांसदको हस्ताक्षर रहेको कांग्रेस संसदीय दलले जनाएको छ।

त्यस्तै वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादी पार्टी (जसपा) का गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गर्नुभएको छ । उहाँको दावीमा एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्तिको लागि आग्रह गरिएको थाहा भएको छ।