शुक्रबार, चैत्र १६, २०८०

वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्ने

काठमाडौं जेठ ७,
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ को आधारमा सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रूपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औंँ तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई जिम्मेवारी दिइने उल्लेख गरिनुको अलावा जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालका रूपमा सञ्चालन गर्न आदेश समेत दिन सक्ने व्यवस्था जारी अध्यादेशमा गरिएको छ ।

त्यस्तै अध्यादेशमा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीका अध्यक्षतामा १० सदस्यीय निर्देशक समितिसमेत गठन गरिने समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।

निर्देशक समितिले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा सुरक्षा र आपूर्ति व्यवस्था तथा बाह्य सहयोगका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने सक्ने  व्यवस्था जारी अध्यादेशमा गरिएको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले कोभिड–१९ स्क्रिनिङ क्लिनिक, फिभर क्लिनिक तथा परामर्श सेवा सञ्चालन गर्ने छ । यस्तै संक्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेशन, हार्ड डिपेन्डेन्सी युनिट (एचडियु) र (आइसियुकक्ष ) हुने छन् । टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवासमेत सञ्चालन हुने छ ।