मङ्लबार, बैशाख ११, २०८१

पत्रकार मुनकर्मीलाई आर्थिक सहयोग

काठमाडौं जेठ ७,
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले महासंघ भक्तपुर जिल्ला शाखाका पत्रकार राजुराम मुनकर्मीलाई शुक्रवार नगदसहित स्वास्थ्य सामग्री र पोषण आहार सहयोग गरेको छ ।

कोभिड संक्रमित पत्रकार मुनकर्मीलाइ उपत्यका प्रदेश समितिले पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमलाइ दृष्टिगत गर्दै स्थापना गरेको ‘कोभिड–१९ उपत्यका पत्रकार राहत कोष’बाट नगद १० हजार त्यस्तै गरि जिल्ला शाखाको ‘पत्रकार कल्याण कोष’बाट नगद ५ हजार रुपैंया आर्थिक सहयोग गरेको हो ।

उपत्यका समितिका सचिव रोशनराज पाण्डे भक्तपुर चोछेंस्थित मुनकर्मीको निवासमा पुगेर पत्रकार मुनकमीकी छोरीलाई मास्क, स्यानिटाइजर र फलफुललगायतका पोषण आहार समेत सहयोग हस्तान्तरण गर्नुभएको महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

समय समाज साप्ताहिकमा आवद्ध पत्रकार मुनकर्मी कोरोना संक्रमणले गम्भिर बिरामी भई उपचारपछि हाल संक्रमण मुक्त भएको र घरमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । उहाँमा गत बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि गम्भिर बिरामी हुनुभएका मुनकर्मीको काठमाडौं सुनधारास्थित काठमाडौं भ्याली अस्पतालको सघन उपचार कक्षमा उपचार भएको थियो ।