मङ्लबार, बैशाख ४, २०८१

महासंघ भक्तपुरलाइ तरुणको तर्फबाट स्वास्थ्य सामग्री

काठमाडौं बैशाख २३ ,
नेपाल तरुण दल भक्तपुरले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भक्तपुरको सल्लाघारीमा आयोजित एक संक्षिप्त कार्यक्रममा भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा र तरुण दलका अध्यक्ष राजु थापाले महासंघ अध्यक्ष जगत प्रजापतिलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा सभापति थापाले कोभिड संक्रमणको जोखिमकाबीच अहोरात्र कार्यस्थलमा खटेर काम गरिरहेका पत्रकारहरुको स्वास्थ्यको सुरक्षामा सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले समाचार संकलनको क्रममा पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह समेत गर्नुभयो ।

तरुण दलका अध्यक्ष राजु थापाले कोभिडको अहिलेको महामारीमा पत्रकार, सुरक्षा निकाय र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गरिरहेको र उनीहरुको सुरक्षाको लागि तरुण दलले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष जगत प्रजापतिले सहयोगको लागि धन्यवाद दिँदैं पत्रकारहरुलाई कोभिड संक्रमणको जोखिमकाबीच कार्यस्थलमा खटेर काम गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले भविष्यमा पनि तरुण दल जस्तै अन्य संघसंस्थाको पनि सहयोगको अपेक्षा गर्दै सम्पूर्ण पत्रकारहरुलाई यो महामारीमा सुरक्षित भई काम गर्न र सकेसम्म घरबाटै कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले प्राप्त सहयोग महासंघको कार्यालय मार्फत जिल्लाका पत्रकारहरुलाई वितरण गरिने जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष एवम् उपत्यका प्रदेश समितिका सचिव अमर भुजु, महासंघ भक्तपुरका उपाध्यक्ष सुन्दर शिल्पकार, नेपाली कांग्रेस जिल्ला सचिव निशान ढुंगेल, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ सभापति जीवन खत्री, नेपाल तरुण दल मध्यपुर थिमि संयोजक पुरुषोत्तम खड्का, जिल्ला सदस्य राजु पुरीलगायतको सहभागिता रहेको थियो ।