शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमित पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउन माग

५ सय ५० पत्रकार कोभिड संक्रमित , ७ जनाको निधन २ जना पत्रकारको आइसीयुमा उपचार हुँदै

काठमाडौं बैशाख २० ,
विश्वव्यापी रुपमा फैलिएको कोभिड— संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको छ । उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र यतिखेर दोस्रो लहरको कोभिड भाइसरबाट पनि प्रभावित हुन पुगेको खवरले नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी र चिन्तित भएको छ ।

महासंघको अभिलेख अनुसार हालसम्म ५ सय ५० पत्रकार कोभिड संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ । संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ । यो संवेदनशील घडीमा अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ । महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न महासंघका महासचिव रोसन पुरीले आज जारी विज्ञप्तिमार्फत सबै पत्रकारमा अपिल गर्नुभएको छ ।

त्यस्ते विज्ञप्तिमा महासंघका सबै प्रदेश र शाखाहरुले कोभिड १९ कोभिड संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिता देखाउँदै कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ । यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न समेत निर्देशन दिदै सबै प्रदेश समिति र शाखाहरुसहित पत्रकारहरुलाई अनुरोध समेत गरेको छ ।

साथै, महासंघ कोभिड संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गर्दै कोभिड संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण समेत गराएको छ ।