शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमणको भयावह अवस्था सिर्जना हुनुमा सरकार जिम्मेवार : सभापति देउवा

काठमाडौं बैशाख १८,
१३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

सभापति देउवाले अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना सन्देश दिँदै कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन भन्दै यस्तो आग्रह गर्नु भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका उहाँले नेपालमा विसं २००३ मा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको स्मरण गर्दै पछिल्लो समय कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको र बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको बताउँदै यस्तो परिस्थिति आउनामा सरकार जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।