बिहिबार, बैशाख १३, २०८१

निर्वाचन भाँड्ने काम नगरौं, प्रक्रिया अघि बढाउन महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरुको आग्रह

काठमाडौं चैत १२,
नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक प्रयक्ष निर्वाचन प्रणालीमार्फत् केन्द्र, प्रदेश र शाखा तथा प्रतिष्ठान र एशोसिएट्सहरुमा एकै साथ आगामी चैत २५ गतेका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन भाँड्नका लागि यो वा त्यो नाममा केही जिल्लामा तालाबन्दी गर्ने क्रम बढेसंगै महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरुले महासंघको निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

महासंघको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन भइसकेको र केन्द्रीय समितिका लागि उम्मेदवारहरुको मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा विभिन्न विवाद देखाएर निर्वाचन प्रक्रिया अवरुद्ध गराउन खोज्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै महासंघका पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिवहरुले आज साँझ संयुक्त विज्ञप्ति प्रकाशित गरी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गर्नु भएको हो । जारी संयुक्त विज्ञप्त्मिा महासंघका पूर्व पदाधिकारीले कुनै पनि दबाब र प्रभावमा नपरी निर्वाचन कार्यतालिका अनुसार निर्वाचन प्रक्रियालाई अगाडि बढाउन निर्वाचन समिति लगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

साथै जारी विज्ञप्तिमा पूर्व पदाधिकारीहरुले महासंघको निर्वाचन प्रक्रियालाई अवरोध गर्ने कुनै पनि गतिबिधि नगर्न र आपसी संवादका माध्यमबाट सदस्यता सम्बन्धी विवादको अविलम्ब निरुपण गर्न महासंघको नेतृत्वको ध्यानार्षण समेत गराएको उक्त विज्ञप्तिमा महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, पूर्वमहासचिव ओम शर्मा, पोषण केसी, पूर्वसचिव रामजी दाहाल, पूर्वकोषाध्यक्ष तेजप्रकाश पण्डित, प्रेस युनियनका केन्द्रीय सल्लाहकार शिव लम्साल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल र प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदीले हस्ताक्षर गरेका छन् ।