शनिबार, बैशाख ८, २०८१

माओवादी केन्द्रीय समिति बैठक: ओली सरकारको विस्थापनका लागि संयुक्त सरकार

काठमाडौं चैत १,
नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय समिति बैठकले ओली नेतृत्वको सरकार विस्थापनका लागि नयाँ संयुक्त सरकार गठन गर्नुको विकल्प नभएको निष्कर्षको पहिचान गरेको छ। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले मुलुकमा सिर्जित पछिल्लो राजनीतिक घटनाक्रम, दलको अवस्था र आगामी दिनमा खेल्ने रणनीतिका विषयगत एजेन्दा का सवालमा जानकारी दिनुभएको थियो ।

साथै उहाँले सरकार गठन र त्यसका लागि दलबीच भइरहेको वार्ता प्रक्रियाका विषयमा समेत जानकारी दिदै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको बताउनुभयो ।

त्यस्तै आजको बैठकमा पार्टी विभाजन पछि प्रादेशिक स्तरमा पार्टीको अवस्थाका विषयमा प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले जानकारी दिनुभएको थियो ।

पार्टी  विभाजन पछि शनिबार बसेको स्थायी कमिटी बैठकले २४ घण्टे अल्टिमेटम सहित सरकारमा सहभागी ७ जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको माओवादी केन्द्रको आज बसेको केन्द्रीय समिति बैठकले निर्धारित समयसिमा भित्र कुनै पनि नेताले प्रतिक्रिया नदिएसंगै औपचारिक पत्र पठाउने निर्णय गरेको छ।

त्यसपछि पनि कुनै प्रतिक्रिया नआए ती नेताहरुमाथि कारवाही गर्ने तयारी भएको थाहा भएको छ। यदि यसवीचमा ती नेताहलाइ राजनीतिक दलसम्बन्धी ऐन अनुरुप कारवाही भएमा उनीहरुको सांसद पद गुम्नेछ । माओवादीका तर्फबाट गृहमन्त्री राम बहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकूदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा रहेका छन् । बैठक पुन सोमवार पनि बस्ने भएको छ।