बिहिबार, बैशाख ६, २०८१

यस्तो छ महाशिवरात्रि पर्वको अवसरमा पाशुपत क्षेत्रमा गरिएको ट्राफिक व्यवस्थापन

काठमार्डौ फागुन २६,
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विहिवार मनाइने महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने सक्ने ट्राफिक जामको अवस्थालाइ दृष्टिगत गर्दै सहज आवतजावतको प्रबन्ध सहित ट्राफिक व्यवस्थापन मिलाएको छ ।

महाशाखाले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको विभिन्न नाकाबाट भित्रिने भक्तजनका सवारी पार्किङको प्रबन्ध मिलाउनुको अलावा मालबाहक सवारी साधन तिनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामङ्गल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिएको जनाएको छ ।

त्यस्तै दर्शनार्थी एवम् भक्तजनका सवारी साधनलाई वनकाली खुला चौर, सिफलचौर, गुहेश्वरी , भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको जानकारीदिदै पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवा प्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकालीभित्र राखिने जानकाी दिएको छ ।

त्यस्तै वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्हेश्वरी पारी पार्किङ स्थान तोकिएको छभने गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अबस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो । त्यस्तै गरि नियमितजस्तै चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको र भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।