बिहिबार, बैशाख १३, २०८१

सर्वोच्चको आदेशानुसार पुनःस्थापित प्रतिनिधिसभाको ७औं अधिवेशन आइतबारदेखि शुरु हुँदै

काठमाडौं फागुन २२,
सर्वोच्च अदालतले दिएको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशनुसार प्रतिनिधिसभाको ७औं अधिवेशन आइतबारदेखि शुरुआत हुँदैछ ।संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो ।  यसवीचमा सरकारको नेतृत्व गरिरहेको नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको प्रस्तुत अधिवेशन आफैमा अर्थपूर्ण रहेको छ ।

सचिवालयले गत पुसमै अधिवेशनका लागि आवश्यक तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निःसङ्क्रमणको व्यवस्थापन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को आधिकारिकताका विषयमा विवाद भई दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेत घोषणा गरिहेको अवस्थामा हुन लागेको अधिवेशनलाई अरू राजनीतिक दल र आम जनताले निकै चासोका साथ हेरिरहेका   छन् ।
सत्तारुढदलवीचको चुलिदो विवादका कारण यसवीचमा नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी ओलीले केही दिनअघि दलका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गर्नुभएको छ भने प्रचण्ड –नेपाल समूहको तर्फबाट संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा देवप्रसाद गुरुङलाई चयन गरिएको सूचना संसद् सचिवालयलाई दिएको अवस्था छ ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका आधारमा निकै अर्थपूर्ण ढङ्गबाट हेरिएको प्रतिनिधिसभाको आगामी बैठकमा सभामुखसहित २७० सांसद सहभागी हुनसक्ने देखिन्छ । यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्षनेताले शुभकामना मन्तव्य दिनुहुने बताइएको छ । यद्यपि कार्यव्यवस्था परामर्श समितिको अधिवेशन प्रारम्भ हुन अघि बस्ने बैठकले कार्यसूचीलाई अन्तिम रुप दिने बताईएकोछ ।