शुक्रबार, चैत्र १६, २०८०

मातृभूमिको पवित्र माटो छातिमा राखेर समिक्षा गरौ : पूर्वराजा शाह

काठमाडौ फागुन ६,
७१ औं प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषको नेताहरुको शासन प्रणाली मात्र नभइ हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटुट रहने बताउनुभएको छ ।

त्यस्तै उहाँले सन्देशमा नेपाल जनता र राजाको सहमतिबाट खडा भएको बताउँदै यसको अस्तित्व रक्षा पनि सहमतिबाटमात्रै हुने बताउनुभयो । उहाँले यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएको उल्लेख गर्नुभएकोछ ।

तर पछिल्लो समय मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेको भन्दै सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै जनताको आस्था, चाहना र जनभावना अन्ततः अमर रहन्छ भन्दै यसलाई मेट्न खोजेर नत मेटिन्छ नत बटारेर त्यो बटारिन्छ भन्दै विश्वमान्य प्रजातन्त्रको सिद्दान्त अनुरुप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस भन्ने कामना गर्नभएको छ।