शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस महाधिवेशन भाद्रको पहिलो साता

काठमाडौ फागुन ५,
नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भाद्रको पहिलो साता गर्ने प्रस्ताव गरेको छ पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन भाद्र ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

यसैगरी गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते गर्ने प्रस्ताव गरिएको  छ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरे पनि कोभिड–१९ सङ्क्रमणका कारण कार्यतालिका प्रभावित भएको थियो ।

साथै बैठकले नेपालको संविधानबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने प्रावधान पार्टीको विधानमा समेत व्यवस्था गर्ने प्रस्ताव गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उहाँले जानकारी दिनुभयो ।