मङ्लबार, बैशाख ११, २०८१

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै

काठमाडौं माघ ८,
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत स्थानीय तहका बडाहरुमा प्रदर्शन गर्न लागेको हो । संसद विघटनविरुद्ध ६ हजार ७ सय ४३ वटै वडामा प्रदर्शन आयोजना गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले सडक संघर्ष जारी राखेको छ ।

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । निर्वाचनको विषयमा भने सर्वोच्चको आदेश कुर्ने कांग्रेसको भनाइ छ । संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको नेताहरुले बताएका छन ।