मङ्लबार, बैशाख ४, २०८१

ललितपुर मालपोतका नासु श्रेष्ठ घुस रकमसहित रङ्गेहात पक्राउ

काठमाडौं माघ ७,
ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार टोलीले ललितपुर महानगरपालिका वडा नं.१२, लगनखेलस्थित बसपार्क नजिकबाट सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई मंगलबार नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि उनीहरुले सेवाग्राहीसँग उक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको आयोगको टोलीले रकम लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको जनाउदै नियन्त्रणमा लिएका दुवैजनामाथि र थप अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।