बिहिबार, बैशाख १३, २०८१

महानगरपालिकाले ब्रुमरले संकलन गरेको धुलोबाट इँटा बनाउने तयारी गर्दै

काठमाडौं  मंसिर  २६,

काठमाडौ महानगरपालिकाले ब्रुमरले संकलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ। महानगरले झण्डै दुई वर्षदेखि ब्रुमरको सहायताले धुलो संकलन गरी सडक सफा गर्दै आएको छ। हालसम्म करिब छ हजार ५०० टन धुलो जम्मा भइसकेको र यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग छलफल भइरहेको       महानगरले जनाएकोछ ।
कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निर्माणका विषयमा छलफल र स्थान पहिचानको कुरा भइरहेको छ। कामपाले हरेक दिन सात ब्रुमरले सडक सफा गर्ने काम गरिरहेको छ। महानगरले सुन्दर सहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो।

२०७५ फागुन २८ गते इटालीबाट रु १० करोड ८० लाखमा ल्याइएका उक्त ब्रुमर सञ्चालनका लागि कामपाले नयाँसडक, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायत स्थानमा पानी नपरेका दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ ।