बुधबार, बैशाख १२, २०८१

महानगर मातहतका सामुदायिक र संस्थागत विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषय पठन–पाठन हुने

काठमाडौं मंसिर १९,
काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठन पाठन गराउन स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । महानगरले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक पठनपाठन गराउने भएको हो ।
नेपालको संविधानको भाग ३ मौलिक हक सम्बन्धी व्यवस्था छ । यसअन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ््यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा महानगरले यो पाठ्यपुस्तक    तयार गरेको हो ।

 पुस्तक महानगरभित्रका सबै संस्थागत र सामुदायिक विद्यालयहरूमा पठाइने छ । कक्षा १ देखि ८ सम्म स्थानीय नेपाल भाषाको अध्यापन गराउन ५१ आँै कार्यपालिका बैठकले चालु क्षैक्षिक सत्रबाटै पठन–पाठन सुरु गर्ने निर्णय गरेको थियो । शिक्षा विभागका अधिकृत मोती खनालकाअनुसार गएको वैशाख–जेठबाट तयारी सुरु गरिएको थियो । कोभिड १९ र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ््यपुस्तक छपाइलगायतका काममा ढिलाई भएको थियो । शिक्षा बिभागले महानगरको एफ. एम. रेडियोबाट पठनपाठन गराइरहेको छ ।
महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि सञ्चालनमा छन् । संस्थागत विद्यालयको संख्या करीब ६ सय ४० रहेको छ । यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुनेछ ।
‘ पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय समेटिएका छन् । ‘पाठ््यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन । परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको हो । बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुनेछ । त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ ।

काठमाडौं महानगर ऐतिहासिक कालदेखि नेपालभाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान हो । यही कारण महानगरले स्थानीय भाषाको पाठ्यपुस्तक नेपालभाषामा तयार गरेको हो । काठमाडौं महानगरको भित्रका अधिकांश ठाउँको नाम नेपाल भाषामै छन् । काठमाडौंको परिचयसँग जोडिने धेरै शव्द नेपाल भाषामा नै छन् । त्यसकारण नेपाल भाषाको स्थानीय पठनपाठनले नगरलाई अझ नजिकबाट बुझ्न सकिने अपेक्षा गरिएको छ ।